उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

काठमाडौं, फागुन २६ गते । निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ ।

खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद देखिएका छन् । आयोगको निर्णयपछि नौ दलीय गठबन्धनको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक बस्यो ।

बैठकपछि बाहिरिने क्रममा कार्यदल संयोजक तथा कांग्रेस उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको संविधानको व्यवस्थाविपरीत रहेको प्रतिक्रिया दिनुभयो ।

सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताउनुभयो ।

संविधानविपरीत आयोगले निर्णय गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो , ‘फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ । अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला–पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन ।’

तर, आयोगको निर्णय संविधानसम्मत रहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताउनुभयो । सोही कार्यदलको बैठकबाट बाहिरिने क्रममा उहाँले आयोगले जारी गरेको वक्तव्य संविधानभन्दा बाहिर नरहेको बताउनुभयो । संविधान र कानुनको मर्म र भावनाअनुसार नै उपराष्ट्रपति चयन गर्नुपर्ने उहाँको भनाई छ ।