काठमाडौं महानगर– ८ मा महिलाहरूको सशक्तिकरणका लागि तालिम सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा महिलाहरूको व्यक्तित्व विकास, सशक्तिकरण र स्वावलम्बनका लागि विभिन्न विधागत तालिम सञ्चालन गरिएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा अध्यक्ष आशामान संगतले तालिममा भाग लिन सिकेको सिपलाई आयआर्जनमा रुपान्तरण गर्ने दृढता न्यूनतम सर्त भएको बताए। बुधबार प्रारम्भिक बाल विकास (इसीडी) कक्षा सञ्चालन र नेल आर्ट तालिम सुरु गरिएको छ। उहाँले महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरताका लागि सञ्चालन गरिएका कार्यक्रमबाट अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।

वडा सदस्य सलोनी ओडारीका अनुसार तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सहकार्यमा सञ्चालन भइरहेको छ र तालिमको अवधि पूरा गर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

तालिम दैनिक पाँच घण्टा सञ्चालन हुनेछ । नेल आर्ट तालिमको अवधि १ महिना, भने मन्टेश्वरी तालिमको अवधि ६५ दिनको छ । तालिममा ४० जना प्रशिक्षार्थी सहभागी छन्, जसमा इसीडी कक्षामा २० जना र नेल आर्टमा २० जना रहेका छन् ।