काठमाडौँ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रतिनिधिसभा उम्मेदवारका रूपमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस भएकिछन् ।
नेपाली कम्युनिष्ट पार्टीको चितवन क्षेत्र नम्बर ३ को आज बसेको बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
मेयर दाहालका अनुसार आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनका लागि क्षेत्रीय समितिको बैठकले उनको नाम मात्रै सिफारिस गरेको हो ।
“आज क्षेत्र नम्बर ३ को पार्टी बैठक थियो । मेरो मात्रै नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ,” दाहालले नेपाल प्रेससँग भनिन्, “साथीहरूले देखाएको विश्वासलाई स्वीकार गर्छु । महानगर छोडेर निर्वाचनमा अघि बढ्नुपर्ने अवस्था आएको छ । चुनौतीका बीच पार्टीको निर्णय स्वीकार गरेकी हुँ ।”
पार्टीको औपचारिक निर्णयपछि दाहालले भरतपुर महानगरपालिकाको जिम्मेवारी छोडेर संसदीय राजनीतिमा सक्रिय हुने तयारी गर्ने बुझिएको छ ।



