विराटनगर — विराटनगर महानगरपालिकाले आजदेखि खसी, बाख्रा तथा सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर र स्वाइन फिभर रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा सुरु गरिएको खोप अभियान विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट औपचारिक रूपमा प्रारम्भ गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत महानगरपालिकाका सबै वडामा किसानले पालेका २४ हजार १०० खसी–बाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यसैगरी सुँगुर–बङ्गुरका लागि एक हजार १०० डोज स्वाइन फिभर खोप वितरण गरिनेछ ।
आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस प्रकारको खोप अभियानले पशुमा अनाहक रूपमा लाग्ने संक्रामक रोग नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
महानगरपालिकाले पशुपालक किसानको आर्थिक क्षति न्यूनीकरण र पशु स्वास्थ्य सुधारका लागि आगामी दिनमा पनि यस्ता निःशुल्क खोप तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



