पाँच महिनामा वीरगञ्ज नाकाहुँदै ८ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्य बराबरका खाद्यवस्तु आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार १७ प्रकारका खाद्यवस्तु गरी कुल १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो आयात गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा खाद्यवस्तु आयातको मूल्य १४ प्रतिशतले वृद्धि भएको जानकारी दिए , ।

भन्सारका तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान आयात भएको छ भने रु दुई अर्ब ९६ करोड बराबरको मकै नेपाल भित्रिएको छ । यसैगरी रु एक अर्ब ३१ करोड मूल्यको चामल र रु २५ करोड बराबरको माल्ट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्दा खाद्यवस्तुको आयात बढ्दै गएको जानकारहरू बताउँछन् । भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका भएकाले वीरगञ्ज हुँदै खाद्यान्न आयातको ठूलो हिस्सा नेपाल भित्रिने गरेको छ ।