पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी : जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय तम्घास मार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन (एन–टाइप) पुल आस्था सम्झना जेभी अर्घाखाँची ले सम्झौता अवधि अगावै निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि एक करोड ७१ लाख ८४ हजार ४६० रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर समयअगावै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् ।

वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो । पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए ।

पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

स्थानीय रामलाल घिमिरे का अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जान सहज हुनुका साथै व्यापारिक गतिविधि पनि बढ्ने अपेक्षा गरिएको छ। लामो समयदेखि स्थानीयले माग गर्दै आएको झोलुङ्गे पुल निर्माण भएपछि दुई बस्तीबीचको आवतजावत मात्र सहज नभई क्षेत्रको सामाजिक–आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।