काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आयोगले प्रतिवादी महर्जनसमेत रहेको राजस्व चुहावटसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा फरक–फरक पाँच वटा पुनरावेदन निवेदन दर्ता गराएको हो ।
आयोगद्वारा आज जारी विज्ञप्तिमा गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन र तत्कालीन उपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरूले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका प्रचलित कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । ती कार्यबाट राजस्व चुहावट गराई नेपाल सरकारलाई ठूलो आर्थिक हानी पु¥याइएको आयोगको दाबी छ ।
विज्ञप्तिअनुसार प्रतिवादीहरूले कुल रु एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ बराबरको राजस्व चुहावट गरी सरकारलाई हानी पु¥याएका छन् । सोही आधारमा भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको आयोगले जनाएको छ ।
अख्तियारले विशेष अदालतको फैसला पुनरावलोकन गरी दोषी ठहर गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा अघि बढाएको हो ।



