बेनी नगरपालिकाको १८औँ नगरसभाबाट १ करोड ३९ लाख बजेट विनियोजन

म्याग्दी – बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा थप ५० वटा योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १८औँ नगरसभाले गत आर्थिक वर्षमा खर्च नभएको बजेटलाई विभिन्न योजनामा पुनः विनियोजन गर्ने निर्णय गरेको हो ।

नगर उपप्रमुख ज्योति लामिछानेका अनुसार ४३ वटा योजनाका लागि रु एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रवद्र्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार कार्यक्रम) का लागि रु १० लाख ५४ हजार विनियोजन गरिएको छ । यसरी रु एक करोड ६३ लाख बराबरका ५० वटा योजना संशोधन गरिएको उपप्रमुख लामिछानदे जानकारी दिईन् ।

नगरसभाले चालु आवका लागि यसअघि प्रस्तुत गरिएको कुल बजेट रु ७१ करोड ८० लाख २७ हजारलाई बढाएर रु ७३ करोड नौ लाख ६२ हजार कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गत असारको नगरसभाबाट वडास्तरीय ३१० र नगरस्तरीय पाँचवटा योजना छनोट भएका थिए । तीमध्ये हालसम्म वडास्तरीय ९० वटा योजनाको सम्झौता भइसकेको छ, जसमा छवटा योजना सम्पन्न भएका छन् भने २२० वटा सम्झौताको चरणमा छन् । नगरस्तरीय पाँचमध्ये तीनवटाको ठेक्का सम्झौता भइसकेको र दुईवटा ठेक्का प्रक्रियामा रहेका उनले बताए ।

नगरप्रमुख सुरत केसीले रु पाँच लाखसम्मका योजनाको सम्झौता वडा कार्यालयमै गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। सभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नगरपालिकाले कुल २९.९९ प्रतिशत बजेट खर्च गरेको छ, जसमा चालुतर्फ रु २१ करोड ८७ हजार ५५० र पुँजीगततर्फ रु ५३ लाख ३०१ खर्च भएको छ ।

नगरपालिकाले चालु आवमा रु चार करोड ३३ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक करोड ८७ लाख ५९ हजार ३०३ राजस्व सङ्कलन भई ४३.२७ प्रतिशत लक्ष्य हासिल भएको जानकारी गराइएको छ ।

नगरसभाले बेनी नगरपालिकाको शिक्षा ऐन, २०७४ संशोधन गर्दै नगर शिक्षा समितिको संरचना परिमार्जन गर्ने निर्णयसमेत गरेको छ । साथै, दुई करोड चार लाख १५ हजार २०१ रुपैयाँ ३० पैसा बेरुजु नियमित गर्ने प्रस्ताव पारित गरिएको छ ।

नगरसभाको अवसरमा उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था र निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । निर्धारित समयमै योजना सम्पन्न गर्ने निर्माण व्यवसायी, सबैभन्दा बढी कर तिर्ने करदाता तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने कर्मचारी र संस्थालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।