चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा

काठमाडौँ — चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएको छ । काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्रममुक्त स्थानीय तह’ बनेको जनाइएको छ ।

आज यहाँ आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे तथा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलगायतले नगरपालिकालाई औपचारिक रूपमा ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरे ।

यसअघि चन्द्रागिरि नगरपालिका–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो । चन्द्रागिरि–१२ का कामु वडाध्यक्ष अञ्जु नेपालका अनुसार “बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ” भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नं १४ लाई पहिलोपटक ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

घोषणाका क्रममा परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो । नगरपालिकाका अनुसार विसं २०८० असोज ४ मा वडा नं ३, सोही वर्ष फागुन २७ मा वडा नं ८, चैत २१ मा वडा नं ६, चैत २३ मा वडा नं ७, चैत ३० मा वडा नं ५, विसं २०८१ भदौ २९ मा वडा नं ११, असोज ५ मा वडा नं १०, माघ १० मा वडा नं ९, माघ २५ मा वडा नं २, फागुन १८ मा वडा नं ४, विसं २०८२ जेठ ३० मा वडा नं १५, सोही वर्ष भदौ १३ मा वडा नं १३ र भदौ १५ मा वडा नं १ लाई क्रमशः ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने लक्ष्य नगरपालिकाले लिएको थियो । सो लक्ष्य समयअगावै पूरा भएपछि नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिएको हो ।

नगर प्रमुख घनश्याम गिरीले घोषणा पश्चात् यसको दिगोपन कायम राख्न निरन्तर काम गरिने बताए । उनले भने, “बालश्रममुक्त स्थानीय तह घोषणा पछि यसको दिगोपनमा काम जारी राखिनेछ । यस अभियानमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

नगरपालिकाले ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५)’, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

चन्द्रागिरि–१५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाको दिशामा अघि बढ्दै प्रारम्भिक चरणमै विभिन्न सूचक पूरा गरी वडाहरूलाई बालश्रममुक्त बनाइएको जानकारी दिए ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको अथक सहयोगका कारण चन्द्रागिरि नगरपालिका बालश्रममुक्त घोषणा हुन सफल भएको बताए ।

यसअघि देशभर छ वटा स्थानीय तहमात्रै ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएका थिए । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाकी अधिकृत विष्णुकुमारी बाँस्कोटाका अनुसार नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

घोषणा कार्यक्रममा ‘बालश्रममुक्त स्थानीय तह’ घोषणासम्म पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत प्रदान गरिएको थियो ।