काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताए ।
उनले प्रस्तावित संयन्त्रमार्फत तीन देशबीच स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान, जोखिमयुक्त हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा विपद्का समयमा सीमापार सहायता समन्वय गर्न सकिने बताए ।
प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेका जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य बन्दै गएको छ ।
नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराए ।
उनले स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न नेपालले जलविद्युत् विकासलाई अघि बढाइरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको तथा स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई बलियो बनाउँदै लगिएको बताए ।
प्रधानमन्त्री शाहले नेपालले बढ्दो प्राकृतिक विपद्सँग जुध्न आफ्नो तयारीलाई थप सुदृढ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सम्बोधनका क्रममा उनले एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको घटनालाई नेपालमा मात्र सीमित त्रासदीका रूपमा नहेर्न आग्रह गरे । उक्त विपद् विश्वकै लागि चेतावनी भएको उल्लेख गर्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असर र विपद्को जोखिम न्यूनीकरणका लागि तत्काल क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।



