काठमाडौं महानगर – २ को सेवा अब नवनिर्मित प्रशासनिक भवनबाट

काठमाडौं — काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा निर्माण गरिएको नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यसअघि वडा कार्यालय लाजिम्पाट मार्गबाट नीलसरस्वती मार्गतर्फको सडक खण्डमा सञ्चालन हुँदै आएको थियो ।

नयाँ प्रशासनिक भवन निर्माणमा करबाहेक रु ४ करोड ९१ हजार ५२४ खर्च भएको छ । भवनको उद्घाटन समारोहमा वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सार्वजनिक सम्पत्ति समूहको कब्जाबाट मुक्त गरी नागरिक सेवा दिने केन्द्रका रूपमा विकास गर्न पाउनु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए ।

कार्यक्रममा पूर्व काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्वाधार विकाससँगै सेवा प्रवाह थप चुस्त र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनले २ हजार ४४३ वर्गफुट क्षेत्रफलको जमिन ओगटेको छ भने भवनको कुल क्षेत्रफल १२ हजार ५२७ वर्गफुट रहेको छ । भवन निर्माणको लागत अनुमान ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनलसमेत गरी रु ५ करोड ५१ लाख ६ हजार ८५ रहेको थियो ।

२०७८ वैशाख १५ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने अवधि सोही वर्षको चैत मसान्तसम्म तोकिएको थियो ।

नयाँ प्रशासनिक भवनबाट वडाको सम्पूर्ण प्रशासनिक सेवा सञ्चालनमा आएपछि पुरानो भवनमा भने स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको वडाले जनाएको छ ।