महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

म्याग्दी — म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा लिइएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडक अन्तर्गत टुनीखर्क खण्डमा स्तरोन्नतिको काम सुरु गरिएको छ ।

बेनी नगरपालिकाले करिब १८ वर्षअघि ‘ट्रयाक’ खुलेको उक्त सडकलाई फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गर्ने, ढलान तथा कालोपत्र गर्ने कार्य अघि बढाएको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको योजनामा शङ्कर निर्माण सेवाले रु एक करोड १५ लाखमा ठेक्का पाएको छ । ठेकेदार कम्पनीले डोजर परिचालन गरी सडक फराकिलो पार्ने र पर्खाल निर्माणको काम थालेको छ ।

आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । बेनी नगरपालिकाका सिनियर सब–इञ्जिनियर कमल थापाका अनुसार योजनाअन्तर्गत ३५० मिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर सडक ढलान गरिनेछ । साथै ३५० मिटर पक्की नाला र ४०० घनमिटर पलम पर्खाल निर्माण हुने उनले जानकारी दिए । हाल करिब चार मिटर चौडाइ रहेको सडकलाई छ मिटर फराकिलो बनाइनेछ ।

आर्थिक वर्ष २०६४/६५ मा ट्रयाक खोलिएको बेनी नगरपालिका–७, ६, ५ र ४ नम्बर वडा जोड्ने यो सडक रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग रहेको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताए ।

रणनीतिक वैकल्पिक सडक भएकाले महारानीथानबाट डाडाबारी–छाप, डाडाखेत हुँदै ठूलोखोलासम्म पछिल्लो चार वर्षदेखि चरणबद्ध रूपमा स्तरोन्नतिको काम हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा छाप क्षेत्रमा गरिएको कालोपत्र गुणस्तरीय नभएपछि मापदण्डअनुसार काम गर्न निर्माण व्यवसायीको धरौटी रोक्का गरिएको वडा अध्यक्ष बानियाले जानकारी दिए । यसअघिका वर्षमा ठूलोखोलाबाट डाडाखेत खण्डमा घुम्ती सुधार, मोड मिलाउने र ढलानको काम सम्पन्न भइसकेको छ ।

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानदेखि छाप हुँदै डाडाखेततर्फ सडक स्तरोन्नतिको योजनालाई निरन्तरता दिएको छ । मार्ग खुलेको १८ वर्षपछि पक्की सडक निर्माण सुरु भएकोमा स्थानीयवासी खुसी भएका छन् । स्थानीय भुवन आचार्यले लामो समयपछि सडक पक्की बन्न थालेकाले आवतजावत सहज हुने विश्वास व्यक्त गरे ।