काठमाडौं – काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रेकर्ड भएको हो ।
विभागका अनुसार यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन गरिएको थियो । त्यसयता आजको तापक्रम वर्षकै सबैभन्दा कम भएको हो ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम छ भने हिमाली क्षेत्रमा केही स्थानमा हिमपात भइरहेको छ । उहाँले चिसो अझै बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार पुस १६ गते तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ ।
बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख छ । यही पुस १७ गते पनि मौसमको अवस्था उस्तै रहने अनुमान गरिएको छ ।
विभागले तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।



