एक करोड ६८ लाखमा वडा कार्यालयको भवन निर्माण

बागलुङ – तमानखोला गाउँपालिका–३ मा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ६८ लाख लागतमा निर्माण गरिएको उक्त भवनबाट निर्माण कम्पनीले हस्तान्तरण गरेपछि सेवा प्रवाह सुरु गरिने भएको छ ।

वडा अध्यक्ष झकबहादुर बुढा मगरका अनुसार सुविधायुक्त सभाहलसहित सात वटा कोठा रहेको तीनतले भवन निर्माण गरिएको हो । भवनमा करिब दुई सय सिट क्षमताको सभाहलसमेत रहेको छ ।

नौ आना क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त भवन स्थानीय तहको प्रशासनिक सेवा, बैठक तथा सामाजिक गतिविधिका लागि प्रयोग गरिने जनाइएको छ ।

हाल तमानखोला गाउँपालिकाका वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालनमा रहेका छन् भने वडा नम्बर ६ को भवन निर्माणाधीन अवस्थामा छ । यस्तै, वडा नम्बर ४ को कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।