काठमाडौं – काठमाडौँ महानगरपालिका–२६ ले वडाभित्र जडान गरिएका ७७ वटा सिसी क्यामरालाई फाइबर इन्ट्रानेट सञ्जालमा जडान गरेको छ । नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रभित्र जडान गरिएका क्यामराहरूलाई वडा कार्यालयमा राखिएको मोनिटरबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने गरी प्रणाली सञ्चालनमा ल्याइएको हो ।
रु एक करोड लागतमा जडान गरिएको उक्त प्रणालीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नगर प्रवक्ता नवीन मानन्धर र कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा वडाध्यक्ष तिवारीले वडाभरि सिसी क्यामरा विस्तार गर्ने योजना रहेको जानकारी दिए । “वडाभित्र करिब २०० स्थानमा सिसी क्यामरा जडान गर्नेछौँ । क्यामरा विस्तारसँगै सुरक्षित वडा निर्माणमा उल्लेख्य सहयोग पुग्नेछ,” उनले भने,। उनका अनुसार सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिमा आधारित दिगो पूर्वाधार निर्माण गर्दै सुरक्षा निकायसँग सहकार्य गरिनेछ ।
महानगरपालिका सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले सहरभर जडान गरिएका सिसी क्यामराबाट प्राप्त दृश्यको केन्द्रीय निगरानीका लागि बालाजु–बाइसधारा उद्यान क्षेत्रमा ‘सर्भलेन्स रुम’ (निगरानी कक्ष) निर्माण गर्न निर्माण पक्षसँग सम्झौता भइसकेको जानकारी दिए । हाल सञ्चालनमा आएको प्रणालीलाई क्रमशः महानगरका अन्य वडामा पनि विस्तार गरिने उनले बताए ।
नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौतले महानगरपालिकासँग सहकार्य गर्दै प्रत्येक सिसी क्यामरालाई फाइबर सञ्जालमार्फत निगरानी कक्षसम्म जोड्ने काम भइरहेको जानकारी दिए ।
बत्ती गए पनि क्यामरा सञ्चालन भइरहने गरी ब्याकअप पावरको व्यवस्था गरिएको छ । पिटीजेड क्यामराले स्वचालित रूपमा दायाँ–बायाँ घुम्ने, तल–माथि सर्ने तथा जुम इन–जुम आउट गर्न सक्ने गरी ५५० मिटरसम्मको दूरीका दृश्य स्पष्ट रूपमा खिच्न सक्छ । यस्तै, बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य प्रदान गर्ने जनाइएको छ ।



