क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीपलाई भने समावेश गरिएन

काठमाडौं, माघ १३ गते । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।

उनी थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए । बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकावा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताउनुभएको थियो । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उहाँ अटाउनुभएन ।

स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजका लागि बोलाइएका क्रिकेटरमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ नयाँ अनुहार छन् ।

यस्तै कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा हुनुहुन्छ ।

यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।