स्याङ्जा — वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ। नगरपालिकाले आँधीखोला करिडोरअन्तर्गत बौवास्थित अर्मादीखोलामा पुल निर्माण गर्दै आएको हो ।
वालिङ नगरपालिकाका इञ्जिनियर ध्रुव रेग्मीका अनुसार पुल निर्माण भएपछि यस खण्डलाई सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ । साथै, वालिङ बजारबाट दैनिक सरसफाइ केन्द्रमा हुने फोहर ढुवानी समेत सहज हुनेछ ।
पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग रु ३ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको छ। पुलको लम्बाइ २५ मिटर र चौडाइ ८.४० मिटर हुनेछ, जसमा फुटपाथसमेत रहने छ। हाल फाउण्डेसन निर्माण सुरु भएको छ ।
इञ्जिनियर रेग्मीले भने, “पुल निर्माण भएसँगै वर्षा वा हिउँदमा सवारीसाधन सञ्चालन सहज हुने छ, साथै कृषिजन्य वस्तु तथा नदीजन्य सामग्री ढुवानी गर्न पनि करिडोर प्रयोग गर्न सकिनेछ ।”
स्थानीय बासिन्दाका अनुसार अर्मादी खोलामा पुल बनेपछि पनि मिर्दीखोलाबाट सवारी सञ्चालन गर्नुपर्ने बाध्यता रहनेछ । नगरपालिकाले आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्न ठेक्का लगाउने तयारी गरिरहेको जानकारी दिइएको छ ।
पुल निर्माण पूरा भएसँगै सिद्धार्थ राजमार्ग र वालिङ बजारभित्रका सडकमा सवारी चाप घट्ने, आवागमन सहज हुने र समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।



