काठमाडौं महानगरलाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै

काठमाडौं — काठमाडौं महानगरपालिकाले (कामपा)सहरलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्राप्त गर्ने लक्ष्यसहित महानगरले सिसिटिभी सञ्जाल विस्तार गरिरहेको हो ।

कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरी फाइबर इन्टरनेटमार्फत निगरानी कक्षसँग जोडेर निगरानी सुरु गरिसकेको वडा अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार वडा नं २६ ले समेत आफ्नै निगरानी कक्ष सञ्चालनमा ल्याई ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

वडा नं ३२ र ३ मा सिसिटिभी जडानका लागि बोलपत्र आह्वान हुने चरणमा रहेको छ भने वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभर जडान हुने सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको केन्द्रीय निगरानीका लागि बालाजु बाइसधारा उद्यान क्षेत्रमा ‘सर्भेलेन्स रुम’ निर्माण गर्न निर्माण पक्षसँग सम्झौता भइसकेको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

“प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि अल्ट्रा एचडी (फोरके) गुणस्तरमा आवाजसहित दृश्य प्राप्त हुन्छ । कुनै घटना भए स्वचालित प्रणालीमार्फत प्रहरी र सम्बन्धित निकायलाई दृश्य तथा फोटोसहित सूचना पुग्नेछ,” कार्कीले भने,“दुर्घटना भए तत्काल उद्धार प्रक्रिया अघि बढाउन समेत सहयोग पुग्छ ।”

कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार विगतका अपराधजन्य घटनामा अपराधीले सबैभन्दा पहिले सिसिटिभीमा क्षति पु¥याउने गरेको देखिएको छ । “एउटा क्यामरामा क्षति पु¥याए पनि अर्को क्यामराले विवरण पठाउने प्रणाली जडान गरेका छौँ । यसको संरक्षणमा सबैको समन्वय आवश्यक छ,” उनले भने, ।

गुरागाईंका अनुसार अब सडक र सार्वजनिक स्थानमा गल्ती गरेर उम्किन गाह्रो हुनेछ। “यसले अपराध नियन्त्रणमा मात्र होइन, विकास निर्माणमा हुने दोहोरोपना र गलत संरचनाको पनि निगरानी गर्नेछ,” उनले बताए ।

महानगरले जडान गरिरहेका क्यामरा एआई प्रविधिमा आधारित, आठवटासम्म सेन्सर जडान गर्न मिल्ने तथा ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभिआइएफ) प्रोटोकलअनुसारका हुन् । आठ र चार मेगापिक्सल क्षमताका यी क्यामराले ५५० मिटरसम्म टाढाका दृश्य स्पष्ट रूपमा खिच्न सक्ने बताइएको छ ।

एआई प्रविधियुक्त यी क्यामराले सवारीसाधनको नम्बर प्लेट पहिचान, मानिसको अनुहार चिन्ने, मानिस तथा सवारी आवतजावतको गणनासमेत गर्न सक्छन् । साथै, विद्युत् आपूर्ति बन्द हुँदा पनि सञ्चालन हुने व्यवस्था मिलाइएको कामपाले जनाएको छ ।