नेत्रहीन महिला टी–२० विश्वकपको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको नगदसहित सम्मान

काठमाडौँ — फस्ट विमेन्स टी–२० वल्र्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजनामा भारत र श्रीलंकामा सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई महानगरका प्रमुख ८८बालेन्द्र शाह (बालेन)८८ले सम्मान गरेका हुन् ।

गत कार्तिक २४ देखि मंसिर ७ गतेसम्म सञ्चालन भएको उक्त विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडीले ऐतिहासिक उपविजेता स्थान हासिल गरेका थिए । सम्मान कार्यक्रममा खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने गरी नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

खेलाडीहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजित कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्य, कार्यपालिका सदस्यसहित खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक के.सी. ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतियोगिताका लागि आवश्यक व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे “खेलले खेलाडी र दर्शकलाई समान रूपमा बाँध्छ । सबैलाई जोड्ने क्रिकेट खेलको विकासका लागि महानगर निरन्तर लागिरहन्छ,” उनले भने, ।

टोलीकी कप्तान गीता पौडेलले यो सम्मान सरकारतर्फबाट प्राप्त पहिलो औपचारिक सम्मान भएको उल्लेख गर्दै यसको मूल्य नगदभन्दा पनि ठूलो भएको बताए “हामीलाई अभ्यास मैदानको खाँचो छ। महानगरपालिकाले त्यो पूर्वाधार उपलब्ध गराउनेछ भन्ने विश्वास छ,” उनले भने ।

टोली नेता पवन घिमिरेले यो कार्यक्रम केवल सम्मान मात्र नभई खेलाडीको पहिचान र हौसलाको प्रतीक भएको बताउँदै आगामी दिनमा पारा स्पोट्र्स एकेडेमी स्थापनाको अपेक्षा व्यक्त गरे ।

उपविजेता नेपाली टोलीमा कप्तान गीता पौडेल, उपकप्तान विनिता पुन, सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल सहभागी थिए ।

टोलीका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के.सी. र टोली नेता पवन घिमिरे रहेका थिए ।