लहानमा निःशुल्क परीक्षण सेवा

लहान — लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । नगरपालिकाको वडा नं २० र २१ ले संयुक्त रूपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार शिविर विशेषगरी ३० वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो । उनले विपन्न तथा दलित समुदायका महिलाहरू पाठेघरसम्बन्धी समस्याबाट बढी पीडित हुने गरेको तर आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्था रहेकाले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत निःशुल्क शिविर सञ्चालन गरिएको बताए ।

“यस शिविरबाट समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नेछ,” प्रमुख चौधरीले भने, । उनका अनुसार आगामी दिनमा लहान नगरपालिकाका २४ वटै वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तेजकुमारी श्रेष्ठले यसअघि गत जेठ महिनामा लहान–१५ र १७ मा समेत यस्तै शिविर सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार यस्ता शिविरले ग्रामीण तथा पहुँचविहीन क्षेत्रका महिलालाई प्रत्यक्ष लाभ पु¥याएको छ ।

स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए उपचार सम्भव हुने भएकाले नियमित परीक्षण अत्यन्त आवश्यक रहेको छ । लहान नगरपालिकाले सञ्चालन गरेको यो अभियानले महिलाको प्रजनन स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।