काठमाडौं – भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेकिछन् । जनताको जीउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकता अनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको उनले बताईन् ।
नगरप्रमुख दाहालका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ । “२५ किलोमिटर क्षेत्रलाई पाँच–पाँच किलोमिटरका खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ,” उनले भनिन्,“एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो, तर उपलब्ध स्रोत र जोखिमलाई आधार मानेर प्राथमिकतासहित काम गर्दै आएका छौँ ।”
यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै नगरप्रमुख दाहालले बाँकी क्षेत्रमा पनि छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्,“अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ,” उनले भनिन् । नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरेर काम भइरहेको र तटबन्ध निर्माणलाई पूर्णता दिने उनको भनाइ छ ।
नगरप्रमुख दाहालले आफू निर्वाचित भएलगत्तै तटबन्ध निर्माणको काम सुरु गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास पनि प्राथमिकताका साथ अघि बढाइने बताइन् । पहिलो चरणमा मानव बस्ती उच्च जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्र समेटिने योजना रहेको उनीले जनाकारी दिईन् ।
अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीय बासिन्दासँग छलफल गरेकिथिइन् । उक्त अवसरमा भरतपुर–१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे । त्यस्तै, उक्त वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याए , । भने स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित बन्दै गएकोप्रति खुसी व्यक्त गर्दै बाँकी काम छिटो सम्पन्न गर्न माग गरे ।
नगरप्रमुख दाहालले भरतपुर–१६ गणेशमन्दिर, २६ भगौडी लगायतका विभिन्न क्षेत्रको तटबन्ध निर्माण कार्यको निरीक्षण तथा अनुगमन गरेकिथिइन् ।



