सर्लाही — बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिविरबाट ३५० भन्दा बढी व्यक्तिको मोतियाबिन्दु शल्यक्रिया गरिने भएको छ ।
बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र तथा तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको शिविरमा पहिलो दिनमै ७९ जनाको शल्यक्रिया सम्पन्न भएको छ ।
नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाका अनुसार शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने बागमती नगरपालिकाले बिरामीहरूको खाना र बसोबासको व्यवस्था गरेको छ ।
शिविरका टोली नेता तथा तिलगङ्गा आँखा प्रतिष्ठानकी चिकित्सक डा. रचना सिंहले सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिकामा यस्ता निःशुल्क आँखा शिविर सञ्चालन हुँदै आएको जानकारी दिए ।
उपचारपछि दृष्टि फर्किएको भन्दै बागमती नगरपालिका–७ का ७७ वर्षीय वीरबहादुर खड्काले गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन हुँदा गरिब र असहायले ठूलो राहत पाएको प्रतिक्रिया दिए ।
आयोजक संस्थाका अनुसार शिविरमा सहभागी बिरामीलाई निःशुल्क उपचार, औषधि, खाना तथा आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको छ ।



