भोजपुर – पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको नयाँ प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको छ ।
गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०÷८१ देखि भवन निर्माण सुरु गरिएको हो । यस आयोजनामा कुल लगानीमध्ये ४० प्रतिशत गाउँपालिकाको र ६० प्रतिशत सङ्घीय सरकारको रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । “प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ,” उनले बताए ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्रशासनिक भवनको कुल लागत रु ६ करोड ८० लाख रहेको छ । चारतले भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।
नयाँ भवन निर्माणपछि हाल अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै छानामुनि ल्याइनेछ । यसले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । साथै कर्मचारीलाई सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।
भवन निर्माणको सम्झौता अवधि २०८३ साल असार मसान्तसम्म रहेकाले निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धनमा नयाँ प्रशासनिक भवनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।



