दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालन अनुदानको नाममा पौने २४ लाख रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानअन्तर्गत सञ्चालन गरिएको ‘नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण’ योजनामा व्यापक अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त योजनामा २३ लाख ७५ हजार रुपैयाँ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरिएको निष्कर्ष निकालिएको हो।
अनुसन्धानका क्रममा योजना कार्यान्वयनका लागि गठन गरिएको उपभोक्ता समिति एकै घरपरिवारका सदस्यहरू मिलेर बनाइएको पाइएको छ। २०७८ मंसिर २८ गते सम्झौता गर्दा उपभोक्ता समितिले गर्नुपर्ने कामको स्पष्ट विवरण नखुलाइ केवल औपचारिक सम्झौता मात्र गरिएको अख्तियारको आरोप छ।
योजनाअन्तर्गत भक्तपुरको चाँगुनारायणस्थित एकीकृत कृषि उद्यमी भट्टराई परिवारबाट बोयर जातका १५ बोका र १५ बाख्रा खरिद गरिएको भनी बिल पेस गरिए पनि उक्त उद्यमीले त्यस्तो बाख्रा आफूले बिक्री नगरेको बयान दिएको आयोगले जनाएको छ। साथै भक्तपुरदेखि दार्चुलासम्म बाख्रा ढुवानी गरिएको कुनै प्रमाण, बिल वा कागजातसमेत संलग्न गरिएको थिएन।
बाख्रा वितरणसम्बन्धी भरपाई कागजातमा मिति, लाभग्राहीको ठेगाना तथा पहिचान खुल्ने विवरण नराखी उपभोक्ता समितिकै पदाधिकारीले आफैँ बुझेको देखिने झुट्टा कागजात तयार गरिएको पनि अख्तियारको आरोप छ।
अनुसन्धानबाट प्राविधिकको बिल, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन समितिको स्पष्ट रिपोर्ट, सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षणसमेत नगरिएको पाइएको छ। बाख्रा खोर निर्माणको काम अत्यन्त कमजोर र जिर्ण अवस्थामा रहेको भए पनि फिल्डमा भएको कामभन्दा २४.९९ घनमिटर बढी देखाई मूल्याङ्कन गरी अतिरिक्त रकम भुक्तानी गरिएको आयोगले जनाएको छ।
त्यसैगरी एउटै गाउँमा सञ्चालन हुने बाख्रा पालन कार्यक्रममा आवश्यकभन्दा बढी १५ वटा बोका खरिद गरेको देखाइ कागजमै रकम झिकिएको उल्लेख गरिएको छ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशीविरुद्ध जनही २३ लाख ७५ हजार रुपैयाँ, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी, सब–इन्जिनियर मदन बिष्ट र तत्कालीन नाप्रास अम्बिका बिष्टविरुद्ध जनही ११ लाख २७ हजार ९१५ रुपैयाँ ४२ पैसा तथा नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पूजा बिष्टविरुद्ध जनही २३ लाख ७५ हजार रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित मुद्दा दायर गरेको हो।



