काठमाडौँ महानगरका एक हप्ताभर गरिएका निर्णय : धुलोरहित सडक निर्माण र सौन्दर्यीकरण अभियानलाई निरन्तरता

काठमाडौं – काठमाडौँ महानगरपालिकाले एक हप्ताभरी गरिएका प्रमुख गतिविधि, निर्णय तथा अगाडि बढाइएका कार्यहरु सार्वजनिक गरेको छ । महानगरले खुला मञ्चदेखि भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री संशोधनदेखि नागरिक सहभागितासम्बन्धी कार्यक्रमसम्मका विभिन्न कार्यहरू अघि बढाएको छ ।

महानगरका अनुसार खुला मञ्चलाई सबैका लागि खुला गर्ने तयारी तीव्र बनाइएको छ । सार्वजनिक चासो, सुझाव तथा समस्यालाई प्रत्यक्षरूपमा सुन्ने र समाधान प्रक्रियामा लैजाने उद्देश्यले खुला मञ्चलाई प्रभावकारी बनाउने पहल भइरहेको छ ।

कुमारी घरको छानो जीर्णोद्धार कार्य तत्काल सुरू गर्ने निर्णय पनि यसै हप्तामा गरिएको महानगरले जनाएको छ । संरक्षणको दृष्टिले महत्वपूर्ण कुमारी घरलाई सुरक्षित राख्ने लक्ष्यसाथ आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

यसबाहेक, धुलोरहित सडक निर्माणका लागि विभिन्न स्थानमा काम तीव्र गतिमा जारी रहेको महानगरले बताएको छ । सडक सुधार तथा सौन्दर्यीकरण अभियानलाई निरन्तरता दिइएको छ।

महानगरले सञ्चालनमा ल्याउन थालेको सिल्भर भोलिन्टियर कार्यक्रमप्रति आवेदकहरूले उत्साहजनक सहभागिता जनाएका छन् । जहाँ वरिष्ठ नागरिकले आफ्नो सीप, अनुभव र ज्ञान समाजका लागि उपयोग गर्न पाउने व्यवस्था गरिएको छ।

शिक्षाको क्षेत्रमा पनि महानगरले स्थानीय भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तक संशोधन प्रक्रिया अघि बढाएको छ । स्थानीय पहिचान र भाषिक विविधतालाई पाठ्यक्रममा समावेश गर्न तयारी भइरहेको छ ।

महानगरको भौतिक पूर्वाधार शाखाका अनुसार ३ महिनाको अवधिमा ७३२ वटा भवन निर्माण प्रक्रिया सम्पन्न गरिएको छ । यसले निर्माण स्वीकृति र अनुमतिपत्र सम्बन्धी सेवाको गति तीव्र भएको देखाउँछ ।