काठमाडौं – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार सम्पन्न कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले संघीय संसद्मा उम्मेदवारी दिन स्थानीय तहको पदबाट अलग हुने निर्णय गरेका हुन् ।
त्यसैगरी, आइतबारकै पालिका बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।



