काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालयमा उपस्थित हुन सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ । भीडभाड कम गर्ने र मनोनयन प्रक्रिया सहज बनाउने उद्देश्यले प्रमुख राजनीतिक दल र उम्मेदवारहरूका लागि समयसमेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया समेत सुरु भइसकेको छ ।
अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् । छनोट गर्न बाँकी दलहरूले पनि आज बिहानसम्म प्रक्रिया पूरा गर्ने जनाएका छन् । नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जानकारी दिएको छ । एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवार छनोट गरी आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन् ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उम्मेदवारले मनोनयनका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ । अन्य आवश्यक कागजातसमेत लिएर उपस्थित हुन आयोगले अनुरोध गरेको छ ।
निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाउँदै आज देशभर उत्साहपूर्वक रूपमा उम्मेदवार मनोनयनको कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।


