कास्की – आँखै अगाडि चाँदीझैँ टल्कने माछापुच्छ्रे हिमाल, वरिपरि हरियाली वनजंगल र ढुंगाले छपक्क छापिएका बाटाघाट—यही हो, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा अवस्थित रमणीय गाउँ हेम्जाकोट। यो गाउँबाट दक्षिणतर्फ पोखरा शहर स्पष्ट देखिन्छ भने उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण र लमजुङ हिमालको मनोरम दृश्यले आगन्तुकलाई मोहित पार्छ ।
हेम्जाकोट केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, ऐतिहासिक महत्त्वले पनि प्रसिद्ध छ । वाइसे–चौबीसे राज्यकालदेखि अस्तित्वमा रहेको यो गाउँको नाम यहाँ रहेको “कोट” बाट आएको बताइन्छ । सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष इश्वर गुरुङका अनुसार, गाउँ माथिको कोतमा तत्कालीन समयमा स्थानीय राजाहरूको दरबार रहेको थियो । “त्यही कोटकै नामबाट गाउँको नाम हेम्जाकोट भएको हो,” उनले बताए ।
गाउँकै अर्को टाकुरामा अवस्थित “जयकोट” मा अहिले पनि बलिपूजाको परम्परा कायम छ । स्थानीय विश्वासअनुसार, जयकोटमा दिइएको बलीको प्रसाद महिलाले खान नहुने र घरमा लैजान नहुने मान्यता छ । यसले यहाँको धार्मिक परम्परालाई अझै जीवित राखेको देखाउँछ ।
हेम्जाकोटमा २०६२ सालदेखि पर्यटनसँग जोडिएको घरवास (होमस्टे) कार्यक्रम सुरु भएको हो । सुरुवातमा एउटा घरबाट सुरु गरिएको घरवास हाल १२ घरमा सञ्चालनमा छ । कोभिड–१९ महामारीअघि यहाँ १६ वटा घरमा सेवा उपलब्ध थियो । घरवास कार्यक्रम माछापुच्छ्रे गाउँपालिकामा दर्ता गरिएको छ, जसमा एकैपटक करिब ८० जना पाहुनाको व्यवस्था मिलाइएको छ ।
पर्यटकका लागि खाजा, बेलुका खाना, बास र बिहानको नास्तासहितको प्याकेज रु १,२०० मा उपलब्ध छ । हेम्जाकोट पोखरा महानगरपालिका–१ को सिमपानीदेखि करिब १८ किलोमिटरको दूरीमा पर्दछ । सिमपानीबाट याम्दी, मिलनचोक, मेलबोट हुँदै धिताल पार गरेपछि करिब तीन किलोमिटर अघि यो गाउँ पुगिन्छ । यहाँको बस्तीमा मुख्य रूपमा गुरुङ समुदाय बसोबास गर्छ ।
हेम्जाकोट २०७२ सालमा पर्यटन मन्त्रालयद्वारा “उत्कृष्ट गाउँ पर्यटन गन्तव्य” घोषित गरिएको थियो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, ल्वाङको चियाबारीलगायत क्षेत्र एकैसाथ अवलोकन गर्न सकिन्छ । यो गाउँ प्रसिद्ध “माछापुच्छ्रे मोडल ट्रेक” मार्गमा पर्ने भएकाले हरेक वर्ष देशी–विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।
घरवास सञ्चालक पूर्ण गुरुङका अनुसार, “माछापुच्छ्रे मोडल ट्रेक” मेलबोटबाट सुरु भएर अस्ताम, धिताल, हेम्जाकोट, धम्पुस, अष्ट्रेलिया क्याम्प, पोथना, पितम देउराली, लान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, “हेम्जाकोटको शान्त परिवेश, गुरुङ संस्कृतिको मौलिकता र हिमालको मनोरम दृश्यावलोकन यहाँको प्रमुख आकर्षण हुन् । पछिल्लो समय यो स्थान म्युजिक भिडियो र चलचित्र छायाङ्कनका लागि पनि लोकप्रिय बन्दै गएको छ ।”
प्राकृतिक सौन्दर्य, ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदाको अद्भुत संगम बनेको हेम्जाकोट आज गाउँ पर्यटनको उत्कृष्ट उदाहरणका रूपमा उदाउँदै गएको छ ।



