मुस्ताङ – समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा असोजमै बेमौसमी हिमपात भएको छ। बिहीबार राति भएको हिमपातपछि कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखि मुस्ताङमा निरन्तर वर्षा भइरहेका बेला उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भएको हो।
हिमपातका कारण कोरलानाका क्षेत्रमा निकासी तथा पैठारीका सामान ढुवानी गर्ने कन्टेनर तथा अन्य सवारीसाधनलाई आवतजावतमा समस्या भएको छ। हिउँदयाम सुरु हुनुअघि नै असोज महिनामा हिमपात भएपछि सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन्।
कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भने भारी वर्षा भएको छ। बस्तीभन्दा माथिका उच्च लेक क्षेत्रमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढ्न थालेको उनले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वसूचनामा बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो। कोरलानाका क्षेत्रमा हिमपात भए पनि मुस्ताङका अन्य क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मौसम प्रतिकूल बनेसँगै बाढी, पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मुस्ताङले काभ्रेभीरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए ।
यसैबीच, मुस्ताङको घरपझोङ गाउँपालिकाले कालीगण्डकी नदीमा पानीको सतह बढेर जोखिम निम्तिन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गर्दै कालीगण्डकी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको हो।
निरन्तर वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोबाट निर्मित परम्परागत घरमा समेत जोखिम बढेको छ। घरपझोङ–५ ठिनीकी स्थानीय सरिता थकालीका अनुसार लगातारको वर्षाले पुराना घर चुहिने तथा भत्किने जोखिम बढेको छ।
वर्षाबाट घर जोगाउन स्थानीयले घरका छाना र गारोलाई त्रिपाल तथा प्लास्टिकले ढाक्न थालेका छन्। लामो समयसम्म वर्षा भइरहेमा पुराना ढुङ्गा–माटाका घरमा थप क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ।


