सार्वजनिक स्थलमा फोहर फाल्नेलाई कारबाही हुन्छ, फोहर फाल्ने कार्य नगर्न काठमाडौं महानगरको आग्रह

काठमाडौँ, – काठमाडौँ महानगरपालिकाले अनधिकृत रूपमा सडक, गल्ली, चोक, नदी, खुला स्थानलगायत सार्वजनिक स्थलमा फोहर फाल्ने कार्य नगर्न नागरिकलाई आग्रह गरेको छ ।

महानगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम सार्वजनिक स्थलमा फोहर फाल्ने, थुपार्ने वा व्यवस्थापन नगर्ने कार्य दण्डनीय रहेको स्पष्ट पारेको छ । ऐन विपरीत कार्य गर्ने व्यक्ति वा संस्थामाथि जरिवाना तथा कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

सूचनामा स्वच्छ, सफा र स्वस्थ सहर निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिएको छ । “महानगरपालिकाले दैनिक रूपमा सञ्चालन गर्दै आएको सरसफाइ अभियानबाट प्राप्त उपलब्धिलाई जोगाइराख्न सबैको सहकार्य आवश्यक छ,” सूचनामा भनिएको छ ।

महानगरपालिकाका अनुसार अव्यवस्थित फोहर व्यवस्थापनका कारण सहरको सौन्दर्यमा असर पर्नुका साथै वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा समेत जोखिम बढ्दै गएको छ । विशेषगरी नदी तथा खोलामा फोहर फाल्दा जलप्रदूषण बढ्नुका साथै बाढीजन्य जोखिमसमेत बढ्ने गरेको महानगरको भनाइ छ ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन को पूर्ण पालना गर्दै घरायसी फोहर छुट्टाछुट्टै संकलन गर्ने, तोकिएको स्थान र समयमा मात्र फोहर फाल्ने तथा सार्वजनिक स्थलको संरक्षणमा सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले आगामी दिनमा अनुगमनलाई थप कडा बनाइने र सार्वजनिक स्थलमा फोहर फाल्ने कार्यमा संलग्न देखिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।