काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदी करिडोरलगायत सार्वजनिक स्थानमा पैदल यात्रीका लागि राखिएका सार्वजनिक कुर्सीको व्यवस्थापन कार्य थालेको स्पष्ट पारेको छ । यस क्रममा कुर्सी हटाइएको नभई मर्मत, सुधार र आवश्यकताअनुसार पुनः व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार जीर्ण तथा पुराना कुर्सीको मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप बढी हुने स्थानमा संख्या थप्ने तथा एकै स्थानमा समान डिजाइनका कुर्सी राखेर एकरूपता कायम गर्ने काम भइरहेको छ ।
“पैदल यात्रुको उमेर समूह, शारीरिक अवस्था र प्रयोगको सहजतालाई ध्यानमा राखेर सार्वजनिक कुर्सीलाई अझ आकर्षक र प्रयोगमैत्री बनाउने उद्देश्यले व्यवस्थापन सुरु गरिएको हो,” विभागीय प्रमुख राईले भने, “यसअघि राखिएका स्थानबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरूपता कायम गर्न आवश्यक परे साटफेर मात्र हुन सक्छ ।”
महानगरका अनुसार सार्वजनिक कुर्सीको संख्या पैदल यात्रुको आवतजावत र चापका आधारमा आवश्यकताअनुसार थपघट गरिनेछ । विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लामो दूरी हिँड्ने पैदल यात्रुका लागि विश्रामस्थलको सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
सार्वजनिक स्थानलाई व्यवस्थित, सुरक्षित र सबैका लागि उपयोगी बनाउने महानगरको नीति अनुरूप सार्वजनिक कुर्सी व्यवस्थापन कार्य अघि बढाइएको जनाइएको छ ।



