पर्वत, – पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षको अवधिमा पाँच सयभन्दा बढी नागरिक बसाइँसराइ गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाका विभिन्न वडाबाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरी अन्यत्र गएका हुन् ।
नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माका अनुसार सोही अवधिमा ३३ जना नागरिक भने नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको फलेवास नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइको दर उल्लेख्य रूपमा बढेको पाइएको छ ।
वडागत विवरणअनुसार फलेवास–११ पाङ्गराङबाट सबैभन्दा धेरै ७१ जना बसाइँसराइ गरी गएका छन् भने सबैभन्दा कम फलेवास–५ खानीगाउँबाट २९ जना मात्रै बाहिरिएका छन् । नगरपालिकाका प्रवक्ता अच्युत तिवारीका अनुसार आसन्न निर्वाचनका कारण मताधिकार बसेको स्थानबाटै प्रयोग गर्नुपर्ने अवस्था र सेवा–सुविधाको खोजीले पनि बसाइँसराइ बढेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटाबाट ३५ जना बाहिरिँदा दुई जना मात्रै बसाइँ आएका छन् । वडा नं २ थापाठामा आठ जना आएका र ३५ जना गएका छन् । वडा नं ३ शङ्करपोखरीमा तीन जना आएका भने ४८ जना बाहिरिएका छन् ।
यसैगरी वडा नं ४ मुडिकुवाबाट २९ जना, वडा नं ५ खानीगाउँबाट २९ जना, वडा नं ६ देवीस्थानबाट ५३ जना, वडा नं ७ लिमीठानाबाट ४९ जना, वडा नं ८ ठानमौलाबाट ३३ जना, वडा नं ९ भङ्गराबाट ५२ जना, वडा नं १० कुर्घाबाट ५० जना र वडा नं ११ पाङ्गराङबाट ७१ जना बसाइँसराइ गरी गएका छन् ।
पञ्जीकाधिकारी शर्माका अनुसार बसाइँसराइ गर्नेहरू मुख्यतः पोखरा, काठमाडौँ, चितवन र बुटवललगायत सहरतर्फ जाने गरेका छन् । नगरपालिकामा रोजगारीको अवसर अभाव हुनु बसाइँसराइको प्रमुख कारण रहेको उनको भनाइ छ ।
चौबीस हजार ६७८ जनसङ्ख्या रहेको फलेवास नगरपालिकाबाट पछिल्ला वर्षहरूमा निरन्तर बसाइँसराइ बढ्दै गएको जनाइएको छ । सदरमुकामपछिको दोस्रो नगरपालिका भए पनि दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर उच्च देखिएको नगरपालिकाले जनाएको छ ।
स्थानीयवासी विकास लम्सालले गाउँगाउँमा विकास पुगे पनि बस्ती रित्तिँदै जानु दुःखद् भएको बताउँदै स्थानीय सरकारले रोजगारी सिर्जना र स्वरोजगारमूलक कार्यक्रममार्फत गाउँमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ,।



