बर्खायामको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण हुँदै

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बर्खायाममा हुने सम्भावित डुबान र कटानको जोखिम न्यूनीकरण गर्न बागबजार र बबरमहल क्षेत्रमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीका अनुसार पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डमा पर्ने टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण गरिनेछ । यस आयोजनाको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपैयाँ रहेको छ। निर्माण कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी सम्झौता भइसकेको उनले जानकारी दिए ।

निर्माण हुन लागेको कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । हाल त्यहाँ पुराना ह्युमपाइप प्रयोग गरिएको र बर्खायाममा पानीको बहाव अवरुद्ध हुने समस्या देखिएकाले डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको सबइन्जिनियर शाहीले बताए ।

कल्भर्ट निर्माण सुरु भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजार जाने तथा रामशाह पथबाट पुतलीसडक हुँदै बागबजारतर्फ जाने सवारीसाधनलाई कमलादी मोडबाट बायाँ मोडिँदै कमलादी गणेश मन्दिर र घण्टाघरतर्फको सडक प्रयोग गर्न ट्राफिक प्रहरीसँग समन्वय गरिएको उनले जानकारी दिए ।

यसैगरी, धोवीखोला नदी खण्डमा दोभान पुग्नुअघि रोजबर्ड स्कुल नजिक पनि अर्को बक्स कल्भर्ट निर्माण गरिनेछ । उक्त कल्भर्टको सम्झौता रकम दुई करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ । १७ मिटर लम्बाइ र सात मिटर चौडाइको यो कल्भर्ट २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त स्थानमा रहेको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति पु¥याएपछि आवागमनमा समस्या हुँदै आएको थियो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकारका अनुसार पटक–पटक पहल भए पनि पुल निर्माण हुन नसकेपछि महानगरपालिकाको केन्द्रीय बजेटबाट बक्स कल्भर्ट निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

महानगरपालिकाले यी संरचना निर्माणपछि बर्खायाममा हुने डुबान, कटान र आवागमनको समस्यामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ ।