कोशी प्रदेशमा वामपन्थी नेतृत्वको सरकार कति सम्भव ?, हिक्मत र वर्षमानबीच भेटे

काठमाडाैँ, साउन १५ गते । कोशी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पु-याउन कठिन भएपछि माओवादीको एउटा समूह सर्वदलीय सरकारको प्रयासमा जुटेको छ । कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत दाबी गर्ने तयारीमा रहेको सत्ता गठबन्धनलाई माओवादीभित्रैबाट काउन्टर सुरु भएको छ ।

माओवादी नेता वर्षमान पुनले सर्वदलीय सरकार गठन नभएसम्म कोशीमा मध्यावधि नटर्ने भन्दै आन्तरिक र बाह्य छलफल सुरु गर्नुभयो । सभामुखले राजीनामा दिएर सत्ता गठबन्धनको सरकार बने पनि यो दिगो हुन नसक्ने उहाँको निष्कर्ष छ ।

वर्षमान निकट स्रोतले भन्यो, ‘कोशी प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार आवश्यक छ । सकेसम्म वामपन्थी नेतृत्वमा बन्दा त्यो दिगो हुन्छ ।’

वामपन्थीको नेतृत्वमा कोशीमा प्रदेश सरकार गठन गर्नुपर्ने विषयमा उहाँले अध्यक्ष प्रचण्डसँग पनि लविङ गरिरहनुभएको छ । कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि पुनको भेटघाट भएको बुझिएको छ ।

एमाले संसदीय दलका नेता कार्कीले पनि सर्वदलीय सरकारको कुरा उठाउँदै आउनुभएको छ । उहाँले असार १४ गतेको कोशी प्रदेशसभाको बैठकमा सर्वदलीय सरकारका लागि आह्वान गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो,‘म सर्वदलीय सरकारको पक्षमा छु । प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार पहिलो विकल्प हो ।’

कोशी प्रदेशसभामा वर्षमान गुटका सदस्यहरूको बहुमत थियो । उहाँ निकटका राजेन्द्र कार्कीले मन्त्री बन्न गुट परिवर्तन गरेपछि माओवादीका दुई गुट बराबरीको अवस्थामा पुग्नुभउको छ । प्रदेशसभाका सभामुखसमेत पुन निकट मानिनुहुन्छ ।

वर्षमानसँग निकट स्रोतले भन्यो, ‘सभामुखले राजीनामा दिएर सरकार गठन त हुन्छ । तर, एक महिनापछि पुनः ढल्छ । त्यसैले सर्वदलीय सरकार नै अहिलेको आवश्यकता हो ।’

वर्षमानका स्वकीयसमेत भइसकेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईंले केही दिनअघि सामाजिक सञ्जालमा सर्वदलीय सरकारको विकल्प नभएको बताउनुभएको थियो ।

उहाँले सभामुखलाई राजीनामा गराएर सरकार बनाउँदैमा समस्याको निकास ननिस्कने बताउँदै आएका छन् ।