काठमाडौँ — बसन्तपुर डवलीको दक्षिणतर्फ रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पूर्व भवन तथा नवआदर्श माध्यमिक विद्यालयको स्थानमा जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास निर्माण गर्ने विषयमा सम्बन्धित निकायबीच सहमति भएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले उक्त जग्गा महानगरपालिका मातहत ल्याई निवास निर्माणका लागि जग्गा प्राप्ति तथा भोगचलन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा महानगरपालिका, त्रिभुवन विश्वविद्यालय, गुठी संस्थान, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र सम्पदा अभियन्ताको सहभागिता थियो । कार्यवाहक प्रमुख डंगोलले यस पहलले काठमाडौँको सांस्कृतिक पहिचान र गरिमा उच्च बनाउने बताउँदै सबै पक्षको साझा स्वामित्वमा परियोजना अघि बढाइने स्पष्ट गरिन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालले जग्गा प्रदान गर्ने विषय कार्यकारी परिषद्मा लैजाने जानकारी दिए । गुठी संस्थानले इन्द्रजात्रामा प्रयोग हुने रथ पुनर्निर्माणको निर्णय भइसकेको जनाएको छ ।
२०७२ सालको भूकम्पबाट जीर्ण बनेको भवन जोखिमयुक्त भएपछि महानगरपालिकाले भत्काइसकेको छ। सरकारी जग्गा दर्ता तथा उपयोगसम्बन्धी कार्यविधि २०७९ अनुसार जग्गा हस्तान्तरण प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।



