काठमाडौँ महानगरका ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमअन्तर्गत स्वास्थ्य अवस्था सर्वेक्षण आजबाट सुरु गर्न लागेको छ ।

कार्यक्रमअन्तर्गत सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । साथै स्वास्थ्य जाँचका लागि आवश्यक सामग्री, औषधि र तथ्याङ्क भर्ने ट्याब्लेटसहितका उपकरण प्रदान गरिएको छ। स्वास्थ्य जाँच सामग्रीमा ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, स्टेराइल ड्रेसिङ् सेट, एन्टिसेप्टिक व्यान्डेज, औषधि लगायत आधारभूत स्वास्थ्य सेवा सामग्री समावेश छन् ।

महानगर कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै भनिन्, “यो पदीय जिम्मेवारी मात्र होइन, मानवीय सेवाको काम पनि हो । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई मानवीय अनुभूति दिलाउन, सेवा दिने आचरण अपनाउनुपर्छ। आपत पर्दा सहयोग गर्ने वातावरण सिर्जना गर्नुहोस्।”

कार्यक्रमको उद्देश्य शारीरिक अशक्तता, दीर्घ रोगका कारण नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, उपचार, आधारभूत स्वास्थ्य सेवा र आकस्मिक उपचार सुनिश्चित गर्नु हो। यसका साथै मानसिक स्वास्थ्य, पोषण, सरसफाइ, व्यायाम र सामाजिक अवस्था सुधारका लागि घरपरिवारसँग संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य विभागका प्रमुख दीपक के.सी.का अनुसार संकलित तथ्याङ्कको आधारमा भविष्यमा ज्येष्ठ नागरिकको जोखिम न्यूनीकरणका लागि बजेट, योजना र कार्यक्रमहरु अधिक प्रभावकारी ढंगले निर्माण गर्न सकिनेछ ।

कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठले भने,“ज्येष्ठ नागरिकसँग सहज भेटघाट र परामर्शका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरी आवश्यक सहयोग सुनिश्चित गरिनेछ। घरमा वा छिमेकीमार्फत सहयोग पु¥याउने वातावरण बनाइनेछ ।”