स्वास्थ्यकर्मीसहित कार्यवाहक प्रमुख डंगोल घरमै पुग्दा भावुक बने ज्येष्ठ नागरिक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्न महानगरका सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तथ्य सङ्कलन र प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि टोली खटाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार आर्थिक अवस्था कमजोर भएका, सहयोग गर्ने परिवारजन नभएका, वा परिवारका सदस्य स्वयं अशक्त रहेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्य लिइएको छ । शारीरिक अशक्तता, दीर्घरोग वा हिँडडुल गर्न नसक्ने कारण स्वास्थ्य संस्थामा पुग्न नसकेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सर्वेक्षणसँगै उपचार प्रक्रिया पनि सुरु गरिएको महानगरले जनाएको छ ।

कार्यवाहक प्रमुख डंगोल वडामा पुगेर अनुगमन

स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न तथा ज्येष्ठ नागरिकको अवस्था प्रत्यक्ष बुझ्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नं. ३१ र २७ मा पुगेकी थिईन् । उनले त्यहाँ अशक्त ज्येष्ठ नागरिक र परिवारसँग उनीहरूका चाहना, आवश्यकता र समस्या बारे प्रत्यक्ष संवाद गरेको महानगर स्रोतले जनाएको छ ।

उक्त अवसरमा कार्यवाहक प्रमुख डंगोलले यो कार्यक्रम स्वास्थ्यसँगै सामाजिक दायित्वसँग पनि जोडिएको उल्लेख गर्दै भनिन्,“यो स्वास्थ्यको मात्र होइन, सामाजिक विषय पनि हो । आफैँ उपचारका लागि जान नसक्ने बुबाआमाको घरमै स्वास्थ्यकर्मी पठाएर उपचार र परामर्श सेवा दिनेछौँ । सर्वेक्षणबाट प्राप्त तथ्यका आधारमा आगामी वर्षका नीति, योजना र कार्यक्रम वास्तविक र आवश्यकतामा आधारित हुनेछन् ।”

वडाध्यक्षको प्रतिबद्धताः ‘सबै घरमा पुगेर अभिलेख गर्छौँ’

कार्यक्रमलाई वडास्तरमै प्रभावकारी बनाउने उद्देश्यले वडाध्यक्षहरू पनि सक्रिय देखिएका छन् । वडा नं. ३१ का अध्यक्ष सरोज ढकाल र वडा नं. २७ का अध्यक्ष योगेश खड्गीले हरेक नागरिकको घरमा पुगेर दुःख–सुख बुझ्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताएका छन् ।

उनीहरूले भने, “वडाका सबै घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेख गर्नेछौँ ।”

घरमै पुग्दा भावुक बने ज्येष्ठ नागरिक

स्वास्थ्यकर्मीको टोली घरमै पुग्दा धेरै ज्येष्ठ नागरिक र परिवारजन भावुक बनेका छन् । बानेश्वरका ७९ वर्षीय श्रीहरि अर्याल र उनकी ७८ वर्षीया अशक्त पत्नी जननी अर्याल को घरमा पुगेको टोलीलाई परिवारले हर्षका साथ स्वागत गरेको थियो।

भावुक हुँदै अर्यालले भने, “सन्तान विदेशमा छन्, अब हामीलाई तपाईंहरूले नै हेर्ने हो ।” छ पटक मेजर अपरेसन भइसकेकी जननी अर्यालले स्वास्थ्यकर्मीलाई आवश्यक सबै जाँच गर्न आग्रह गर्दै घरमै सेवा पाउँदा ढुक्क भएको प्रतिक्रिया दिएकी छन् ।

यस्तै, महाबौद्धका ७७ वर्षीय अनन्तप्रसाद लाकोल पक्षघातका कारण पाँच वर्षदेखि ओछ्यानमै छन् । उनकी पत्नी मीना लाकोल का अनुसार १० वर्षअघि रोग लागेपछि उनको अवस्था क्रमशः कमजोर हुँदै गएको छ।

के–के जाँच हुन्छ?

घरदैलोमा खटिने स्वास्थ्यकर्मीका अनुसार ज्येष्ठ नागरिकका लागि रक्तचाप, ग्लुकोज, (सुगर), ज्वरो, पल्स जस्ता आधारभूत परीक्षण गर्नुका साथै विगतको उपचार इतिहास, हाल प्रयोग गरिरहेका औषधि, खानपान तथा दैनिक गतिविधिबारे विवरण संकलन गर्नेछन् ।

महानगरका अनुसार आवश्यक परे तत्काल प्राथमिक उपचारका लागि स्टेराइल ड्रेसिङ सामग्री र आधारभूत औषधि समेत टोलीसँग रहनेछ ।

दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने अपेक्षा

महानगरपालिकाले यस कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, आवश्यक सहयोग र सेवा प्रवाहको यथार्थ चित्र संकलन गरी दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। सर्वेक्षणबाट प्राप्त तथ्यका आधारमा आगामी वर्षका नीति, कार्यक्रम र बजेटलाई वास्तविक आवश्यकतामा आधारित बनाइने महानगरको भनाइ छ ।