काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर हुँदा सुकुमवासी बस्तीमा डोजर लिएर पुग्ने बालेन्द्र शाह (बालेन) अहिले झापाका सुकुमवासीलाई भने लालपुर्जा पाउनुपर्छ भन्दै आश्वासन दिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट उम्मेदवारसमेत रहेका बालेनको यो अभिव्यक्तिले उनको भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।
मंगलबार बिहान बालेन झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्ती पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटे । भेटघाटका क्रममा सुकुमवासीले काठमाडौंमा सुकुमवासी बस्ती भत्काउन डोजर चलाइएको प्रसंग उठाउँदै चिन्ता व्यक्त गरे । “बालेन आएपछि झापामै पनि डोजर चलाइन्छ भन्ने हल्ला छ,” भन्दै उनीहरूले आशंका सुनाए ।
यसको जवाफमा बालेनले काठमाडौंमा डोजर चलाइनुको उद्देश्य सुकुमवासी हटाउनु नभई ज्यान जोगाउनु भएको दाबी गरे । “काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । बाढी आउँदा त्यहाँ डुबान हुन्छ, असारमा झन् जोखिम हुन्छ,” उनले भने, “त्यसैले सुरक्षित ठाउँमा सार्न खोजिएको हो । तर त्यसलाई गलत न्यारेटिभ बनाएर डोजर मात्र देखाइयो ।”
तर झापाका सुकुमवासीको अवस्था फरक रहेको बालेनको भनाइ छ । “यहाँको त रियल हो नि । ४०–५० वर्षदेखि बसेको,” भन्दै उनले झापाका सुकुमवासी वास्तविक भएको दाबी गरे ।
संवादकै क्रममा एक सुकुमवासीले आक्रोश पोख्दै भने,“लगत उठाउँछन्, कर लिन्छन् । आयोग आउँछ, सबै कागज लैजान्छ । तर अहिलेसम्म केही भएको छैन ।”
भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती गर्ने र वास्तविक सुकुमवासीले लालपुर्जा नपाउने समस्या दोहोरिन नदिन आफू गम्भीर रहेको बालेनले बताए ।
“वास्तविक सुकुमवासीले अधिकार पाउनुपर्छ, नक्कलीले होइन,” उनको भनाइ थियो ।
काठमाडौंमा सुकुमवासी हटाउने कडा कदम र झापामा लालपुर्जाको आश्वासन—बालेनको यही फरक व्यवहारले अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा दोहोरो मापदण्ड को बहस चर्किएको छ ।



