दरखोलामा मोटरेबल पुल निर्माण सुरु

म्याग्दी, – म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माण कार्य सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का प्रक्रियामार्फत पुल निर्माण थालेको हो । निर्माणाधीन पुल २५ मिटर लामो हुने जनाइएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार पुल निर्माणका लागि वि.सं. २०८१ भदौ १९ गते ५ करोड ५९ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार यसै महिनादेखि निर्माण कम्पनीले काम थालेको उनले जानकारी दिए ।

हाल खोलालाई डाइभर्सन (मार्ग परिवर्तन) गरेर पुलको पिल्लर राख्ने स्थान तयार गर्ने काम भइरहेको छ । ठेक्का सम्झौताको अवधि एक वर्ष पाँच महिना रहेको कार्यालयले जनाएको छ ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पुल निर्माण सम्पन्न भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने मुना–खोरीया–लमसुङ–लुलाङ–गुर्जा सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताईन् ।

हाल बर्खायाममा दरखोलामा बाढी आउँदा पानीको सतह बढ्ने र सिधा यातायात बन्द हुने समस्या रहेको छ । पुल बनेपछि स्थानीयवासीको आवागमनसँगै सेवा प्रवाह, ढुवानी तथा आपतकालीन सेवासमेत सहज हुने अपेक्षा गरिएको छ ।