काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण खरिद गर्न आर्थिक सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत आज कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तथा शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा यससम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । मेडिकल उपकरण खरिदका लागि महानगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियामार्फत अस्पतालले १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर र ५ सय एम.ए. क्षमताको १ थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ । उपकरण जडान भएपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ र अनुगमन प्रतिवेदनका आधारमा बिलअनुसारको रकम भुक्तानी गरिनेछ । यो काम आउँदो वर्ष २०८३ जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।
महानगरपालिकाले कीर्तिपुर अस्पतालबाट सेवा लिने काठमाडौँ महानगरबासी तथा अन्य बिरामीलाई गुणस्तरीय, सहज र सरल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।
सम्झौता समारोहमा कार्यवाहक प्रमुख डंगोलले जलनसहितका जटिल उपचार सेवा अझ गुणस्तरीय र सहज बनाउन अनुदान प्रदान गरिएको बताए । “काठमाडौँ महानगरपालिकाको वडा नं. १४ सँग जोडिएको कीर्तिपुर अस्पतालबाट महानगरबासीले पनि सेवा लिइरहनुभएको छ। यो पालिका–पालिका तथा पालिका–अस्पताल सहकार्यको नमूना हो,” उनले भने, ।
त्यसैगरी शिक्षा–स्वास्थ्य समितिका संयोजक महर्जनले महानगरपालिकाले आफैँले गर्नुपर्ने तर हालसम्म हुन नसकेका सेवाहरू सहकार्यका माध्यमबाट सञ्चालन गरिरहेको बताउँदै जलनजस्ता संवेदनशील उपचारका लागि सेवा भावले सहयोग गरिएको उल्लेख गरे ,।
अस्पताल नाफा कमाउने उद्देश्यभन्दा सेवा भावले सञ्चालन भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले जलनका बिरामीको उपचार कठिन हुने बताए । “यसलाई अझ सहज बनाउन महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ,” उनले भने, ।



