काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडास्तरबाटै भू–प्रशासन सेवा सञ्चालन गर्ने तयारीस्वरूप कर्मचारीहरूका लागि क्षमता विकास तालिम सुरु गरेको छ । महानगरको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट सेवा प्रारम्भ गर्ने निर्णय गरेअनुसार तालिम सञ्चालन गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरपालिकाको संयुक्त आयोजनामा आज प्रत्येक वडाबाट तीन जना कर्मचारीलाई सहभागी गराई तालिम सञ्चालन गरिएको छ। वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ का भू–सेवामा संलग्न कर्मचारी तालिममा सहभागी छन् ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री प्रा. डा. कुमार इङ्नाम ले स्थानीय तहमा नै भू–प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउनु संघीयताको व्यवहारिक कार्यान्वयन भएको बताए । उनले सम्पत्ति किनबेचका क्रममा नागरिकले भोग्ने झन्झट अन्त्य गर्न स्थानीय जनप्रतिनिधिको रोहवरमा सेवा प्रवाह आवश्यक रहेको उल्लेख गरे ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले नागरिकलाई संघीयताको अनुभूति गराउने गरी झन्झटरहित र यथार्थमा आधारित सेवा प्रणाली सञ्चालन गरिने बताउनुभयो। नमूना कार्यक्रमको सिकाइका आधारमा अन्य वडामा पनि सेवा विस्तार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ ले संविधानले दिएको अधिकारअनुसार अब भू–प्रशासन सेवा स्थानीय तहबाटै प्रभावकारी रूपमा प्रवाह गरिने स्पष्ट पारे ।
यसअघि चारकिल्ला र घरबाटो शिफारिसजस्ता सेवा वडाबाटै प्रदान हुँदै आएका थिए। अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, नामसारी, लिखत पारित, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्व संकलन, बायोमेट्रिक विवरण संकलन, अभिलेख व्यवस्थापनलगायत सेवा सम्बन्धित वडाबाटै उपलब्ध हुनेछ ।
तालिममा मालपोत कार्यालय डिल्लीबजार का प्रमुख काजीबहादुर विष्ट, मन्त्रालयका उपसचिव रोशन घिमिरे र भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणमा जग्गा प्रशासनका प्राविधिक शब्दावली, अभिलेख प्रणाली, न्यूनतम मूल्याङ्कन, रजिष्ट्रेसन शुल्क निर्धारण, पाम प्रणालीमार्फत नामसारी प्रक्रिया र जग्गाधनी प्रमाणपूर्जा जारी गर्ने विषय समावेश छन् ।



