बदर मत घटाउन स्याङ्जाका स्थानीय तहमा स्वयम्सेवक परिचालन

स्याङ्जा – जिल्ला निर्वाचन कार्यालय स्याङ्जा ले बदर मतको सङ्ख्या घटाउने उद्देश्यले जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडामा एक–एक जना स्वयम्सेवक परिचालन गरिएको कार्यालयका प्रमुख श्रीराम थापा ले जानकारी दिए । उनका अनुसार ती स्वयम्सेवकले टोल–टोल तथा घरघरमै पुगेर मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिनेछन्।

स्वयम्सेवकले जिम्मेवारीअनुसार काम गरे–नगरेको अनुगमन गर्न प्रत्येक स्थानीय तहमा एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ । कार्यालयका अनुसार यसअघि भएका निर्वाचनमा जिल्लामा औसत चार प्रतिशतसम्म मत बदर हुने गरेको थियो। बदर मत घटाउन नमूना मतपत्र र स्वस्तिक छाप प्रयोग गरेर मतदातालाई व्यवहारिक प्रशिक्षण दिइनेछ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा करिब दुई हजार कर्मचारी र ९०० स्वयम्सेवक परिचालन गरिने छन् भने एक हजार ९४७ सुरक्षाकर्मी खटिने जनाइएको छ ।

जिल्लाभर एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन्। पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयम्सेवक रहने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।