काठमाडौँ महानगरका १० वडाका ५०९ स्थानका प्राचीन नाम पहिचान

काठमाडौँ – काठमाडौँ महानगरपालिका का १० वडाभित्र रहेका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम पहिचान गरिएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र सँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम एकिन गरेको हो ।

तेस्रो चरणमा थप आठ वडामा अध्ययन विस्तार गर्ने सम्झौतासमेत गरिएको छ। तेस्रो चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानहरूको मौलिक नाम अध्ययन गरिनेछ । सम्झौतामा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र समितिका संयोजक आशामान संगतको उपस्थितिमा विभाग प्रमुख कुमारी राई र केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले हस्ताक्षर गरेकीहुन् ।

सम्झौता कार्यक्रममा डंगोलले नाम केवल बोलाउने शब्द नभई इतिहास, संस्कृति र सभ्यताको पहिचान भएको उल्लेख गर्नुभयो। उहाँले परिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिईन् , ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले प्राचीन र मौलिक नाम नै प्रयोग गर्नुपर्ने बताउँदै एउटै स्थानमा फरक–फरक नाम लेख्दा इतिहास स्थापित गर्न कठिन हुने धारणा राखे , ।

विभागका अनुसार पहिलो चरणमा वडा नं. ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं. ८, १७, १९, २० र २५ मा अध्ययन गरिएको थियो। अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका टोल, बस्ती, मठ, मन्दिर, वहाल, धारा, सत्तल र पाटीहरूको अभिलेखीकरण गरिएको छ ।

पहिचान भएका प्राचीन नाम वडा नं. ५ हाँडीगाउँको प्राचीन नाम ‘नरः’ रहेको छ, जहाँ ५२ स्थानका मौलिक नाम भेटिएका छन् । वडा नं. ६ बौद्धको प्राचीन नाम ‘खस्योरः/खास्ती’ हो, यहाँ ५० नाम पहिचान भएका छन्।

वडा नं. ७ चाबहिलको प्राचीन नाम ‘चावहीः’ हो, ७१ स्थानका नाम अभिलेख गरिएको छ । वडा नं. १८ नरदेवीको प्राचीन नाम ‘ङेतः’ हो, ३६ नाम पत्ता लागेका छन्।

वडा नं. २४ मखनको प्राचीन नाम ‘मखं’ हो, ४९ नाम फेला परेका छन् । वडा नं. ८ जयबागेश्वरीमा ६२ स्थानका नाम पहिचान भएका छन् । वडा नं. १७ धोबीचौरको प्राचीन नाम ‘येँपिख्यः’ हो, २३ नाम भेटिएका छन्।

वडा नं. १९ दमाइटोलमा ४७ नाम अभिलेख गरिएको छ । वडा नं. २० भीमसेन स्थान (प्राचीन नाम ‘तव’) मा ४९ नाम पाइएको छ । वडा नं. २५ मासंगल्ली (प्राचीन नाम ‘मसां गल्ली’) मा ७३ स्थानका मौलिक नाम फेला परेका छन्।

महानगरपालिकाले अध्ययनबाट प्राप्त नामहरूलाई स्थानीय समुदाय, संस्कृतिविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग पुष्टि गरी क्रमशः परिचय पाटीमार्फत सार्वजनिक गर्दै लैजाने जनाएको छ ।