छ सय ७५ सैन्य शिक्षार्थी दीक्षित

गण्डकी, भदौ २५ गते । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् ।
विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो ।तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक सबैतर्फ सर्वोत्कृष्ट बन्नुभयो ।
उक्त अवसरमा दर्जीसहित विभिन्न विधामा प्रथम हुने शारीरिक तन्दुरुस्तीतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारीलाई पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा पृतनापति बानियाँले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भन्नुभयो, “राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।”
सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उहाँले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताउनुभयो । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उहाँले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राख्नुभयो । उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो ।