जुम्ला, – जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । तिला नदी र भेरीखोला नदीको सङ्गमस्थलमा अवस्थित त्रिवेणीधाम धार्मिक यात्रामा निस्कने श्रद्धालुको रोजाइमा पर्ने गरेको वडाध्यक्ष भद्रवीर सार्की ले जानकारी दिए ।
दुई नदीको सङ्गम भएकाले ‘त्रिवेणीधाम’ नामकरण गरिएको यस क्षेत्र विशेषगरी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । वडाध्यक्ष सार्कीका अनुसार त्रिवेणीधाम तिला गाउँपालिकामात्र नभई जुम्ला जिल्लाकै परिचित धार्मिकस्थलका रूपमा स्थापित हुँदै गएको छ। यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनसँग जोड्न गाउँपालिकाले गुरुयोजना तयार पारेको छ ।
त्रिवेणीधामलाई थप व्यवस्थित र आकर्षक बनाउन पर्यटन बोर्डको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएको छ । स्थानीयवासी गोरखाबहादुर शाहीका अनुसार जिल्लाका अन्य स्थानीय तहबाट समेत यहाँ पर्यटक आउने गरेका छन् ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया ले त्रिवेणीधाम ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल भएकाले धार्मिक पर्यटकको सङ्ख्या बढाउन गुरुयोजना बनाएर अघि बढाएको बताए । विशेषगरी साउन महिनामा यहाँ धार्मिक यात्रुहरूको उल्लेख्य भीड लाग्ने गर्दछ भने शिवरात्रिका अवसरमा धार्मिक मेला लाग्ने गरेको छ ।
त्रिवेणीधाम क्षेत्रको थप विकास र पूर्वाधार विस्तार गर्न सके यसलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको गाउँपालिकाको भनाइ छ ।



