रुपन्देही, – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई समेट्न घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति बैठकले प्रत्येक वडाका टोल–टोलमा रहेका पसल तथा व्यवसायमा पुगेर करसम्बन्धी जानकारी दिने र सबैलाई करको दायरामा ल्याउने निर्णय गरेको हो ।
नगर उपप्रमुख तथा राजस्व परामर्श समितिकी संयोजक उमा अधिकारीले करको दर नबढाई दायरा विस्तार गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए । “कर धेरै हो कि भन्ने बुझाइ पनि पाइन्छ, त्यसैले करबारे स्पष्ट जानकारी दिँदै दायरा विस्तार गरिनेछ,” उनले भने, ।
नगरपालिकाका प्रशासकीय अधिकृत कमलकान्त खनालका अनुसार निर्वाचनपछि अभियान कार्यान्वयनमा ल्याइनेछ ।
त्यसैगरी, बैठकले सिद्धार्थनगर–५ मा रहेको कृषि बजार भवन (ए ब्लक) सञ्चालनका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ । भवन लामो समयदेखि सञ्चालनमा नआएको विषय उठ्दै आएपछि विगतमा गठन गरिएको समितिले प्रतिवेदन पेस गरेकाले अब सञ्चालन प्रक्रिया अघि बढाइने जनाइएको छ ।
१३ वडा रहेको सिद्धार्थनगर नगरपालिकाले राजस्व संकलन सुदृढ पार्दै स्थानीय आर्थिक गतिविधिलाई व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।



