काठमाडौं, – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ८६ हजार अस्थायी मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तोकिएका विशेष मतदानस्थलबाट आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनका दिन निर्धारित स्थायी मतदानस्थलमा उपस्थित हुन नसक्ने मतदातालाई अस्थायी मतदाता सूचीमा राख्ने व्यवस्था गरिएको छ। निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, विभिन्न सरकारी तथा अर्धसरकारी निकायमा कार्यरत कर्मचारी र अन्य कारणले आफ्नो गृह मतदानस्थलमा पुग्न नसक्ने मतदातालाई यस सूचीमा समेटिएको हो ।
अस्थायी मतदाताको श्रेणीमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारको स्वामित्वमा रहेका संस्थानका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीसमेत समावेश छन्। यद्यपि, यी मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अस्थायी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरिएको छ। सम्बन्धित जिल्लामा रहेका अस्थायी मतदाताले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सक्नेछन् ।
आयोगले निर्वाचन प्रक्रियालाई समावेशी र सहभागीमूलक बनाउने उद्देश्यले अस्थायी मतदाता व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ। निर्वाचनमा खटिने जनशक्ति र सुरक्षाकर्मीलाई समेत मताधिकार प्रयोगको अवसर सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो।
अस्थायी मतदाताको सूची व्यवस्थापन र मतदान केन्द्र निर्धारणका माध्यमबाट आयोगले निर्वाचन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता कायम राख्ने प्रयास गरेको जनाएको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन आयोगले आवश्यक सबै तयारी पूरा गरिरहेको बताइएको छ।



