दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै

काठमाडौँ, – नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन तथा आमनागरिकसँगको सहकार्यमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रूपमा सम्पन्न भएको जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार गरिएको तयारीले निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न सहयोग पुगेको बताए ।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो । आमनागरिकबाट प्राप्त सूचना तथा अन्य सुरक्षा निकायसँगको समन्वयका आधारमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै नियन्त्रणमा लिइएको उनकाे भनाइ छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि सेना परिचालन गरेको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थसहित ७१ वटा सामग्री फेला परेको र ती विस्फोटक पदार्थ निस्तेज पार्न ८१६ वटा प्रतिकार्य टोली परिचालन गरिएको सेनाले जनाएको छ ।

निर्वाचनअघि र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएका हेलिकोप्टर अब मतपेटिका ढुवानीका लागि प्रयोग गरिनेछन् । निर्वाचन आयोगको योजनाअनुसार दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याइने तयारी गरिएको छ ।