हुम्लाको नाम्खा गाउँपालिकाको हेलिकप्टर मार्फत मतपेटिका ढुवानी

सिमकोट (हुम्ला), – हुम्लाको उत्तरी भेगस्थित दुर्गम मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गर्न सुरु गरिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी क्षेत्रका तील, जाङ र हल्जी तथा सोही गाउँपालिका–४ चालाका मतदान केन्द्रका मतपेटिका ढुवानीका लागि हेलिकोप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए ।

उनका अनुसार आज लिमीको सुनखानी मावि मतदान केन्द्र तथा हल्जी मतदान केन्द्रका मतपेटिका मात्रै ढुवानी गरिनेछ । बाँकी तील, जाङ र चालाका मतदान केन्द्रका मतपेटिका भने शुक्रबार ढुवानी गरिने भएको छ ।

हल्जीस्थित सुनखानी मतदान केन्द्रमा कुल १६४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम र उच्च पहाडी क्षेत्र भएकाले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गर्न हेलिकोप्टर प्रयोग गरिएको हो ।