काठमाडौँ – ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका ले विभिन्न क्षेत्रका महिला नेतृहरुको नेतृत्व यात्रा, साहस र अनुभव सुन्ने उद्देश्यसहित अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
महानगरपालिकाले पत्रकार भेटघाटमार्फत जानकारी दिँदै ‘पावर इन एक्सन : हर टाइम इज नाउ’ शीर्षकमा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो। कार्यक्रममा विभिन्न क्षेत्रको नेतृत्वमा रहेका महिलाहरुले आफ्नो नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ साझा गर्नेछन्।
औपचारिक प्रणालीमा नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहेका व्यक्तित्वले प्रस्तुत गर्नेछन् भने समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्ने महिलाहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हकअधिकार, लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलतामार्फत महिलाको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास तथा समतामूलक समाज निर्माणका विविध आयामबारे अनुभव र विचार प्रस्तुत गरिनेछ।
महानगरपालिकाका अनुसार राज्य प्रणालीको उच्च तहदेखि सामान्य जीवनयापनका विभिन्न पद्धतिसम्मका महिला नेतृत्वका कथा कार्यक्रममा समेटिने छन्। कार्यक्रममार्फत महिला नेतृत्वका अनुभव आदानप्रदान गर्दै समाजमा समानता र सशक्तिकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।


